जनकपुरधाम, १ जेठ । धनुषा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्ला रजौल–५ बस्ने ४० वर्षीय कारी दास रहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान १० बजेको समयमा धनुषाको विदेह नगरपालिका–१ स्थित रेल्वे ट्रयाकमा प्रहरी चौकी ठाडीझिझाबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

भारतबाट नेपालतर्फ आउदै गरेको बिआर ७ बि ६१२५ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा सोही मोटरसाइकलको लेगगार्डमा पलाष्टिकको बोरामा माथीबाट कुरकुरेले छोपेर ल्याइरहेको एक्सिप्लोन १ सय एमएलको ५० बोतल लागूऔषध फेला परेको डीएसपी गौतमले बताए ।

पक्राउ परेका दासलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाएको छ ।