पूर्वसांसद आङटावा शेर्पाले गरे आत्मसमर्पण

काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी गरिएका पूर्वसांसद आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
शेर्पाले सोमबार साँझ टेकुस्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् । २०७० सालमा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।
शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग शेर्पाले हिरासतमा पुगेर भेट गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ गतेदेखी हिरासतमा छन् ।
शेर्पालाई प्रहरीले खोजिरहेको थियो । शनिबार काठमाडौँको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापासमेत मारेको थियो ।
शेर्पाले दुलाललाई प्रहरी वृत्त कालिमाटी र सानु भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेटेका थिए । भेटमा शेर्पाले आरोपीहरुलाई बयान गर्दा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको नाम नलिन आग्रह गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले बताए ।
हिरासतमा गएर शेर्पाले कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री खाँणले आरोपीहरुसँग लिएको रकम फिर्ता गर्ने आश्वासन दिएको थाहा भएको छ ।
तत्कालीन गृहमन्त्री खाणँलाई मन्त्रालयमा गएर पैसा बुझाएको सानु भण्डारीले बयानमा खुलाए । थुनामै रहेका केशव दुलालमार्फत १ करोड २५ लाख रुपैयाँ गृह मन्त्रालयमा लगेर बुझाएको उनले अनुसन्धान अधिकृतहरूलाई बताएका हुन् ।
१ करोड २५ लाख नगद बुझाएको बयान गरेपछि प्रहरीले बालकृष्ण खाँणलाई वैशाख २७ गते उनको घरबाटै पक्राउ गरेको थियो । सचिव टेकनारायण पाण्डे पनि थुनामा छन् । खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि सो प्रकरणमा थुनामा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


