काठमाडौं, १ जेठ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

काठमाडौंको बूढानीलकण्ठबाट आइतबार साँझ पक्राउ परेका रायमाझीलाई सोमबार जिल्ला अदालतमा पेस गरिएको थियो ।

अदालतको आदेशअनुसार प्रहरीले रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

रायमाझीलाई वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएकामा १२औँ दिनमा पक्राउ गरिएको थियो । उनका छोरा सन्दीपलाई भने सोही दिन पक्राउ गरिएको थियो ।

प्रहरीले उक्त घटनामा अहिलेसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसहित १३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

उक्त घटनामा १०६ जनाले २३ करोड २५ लाख ठगी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।