भ्रष्टाचारविरुद्ध संसदबाटै आन्दोलन गर्नुपर्छ : शाही

काठमाडौं, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले भ्रष्टाचारविरुद्ध संसदबाटै आन्दोलन गर्नुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सडक आन्दोलन भन्दा संसदमा आन्दोलन गर्नुपर्ने बताएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही जेठ ४ गते भ्रष्टाचारविरुद्ध काठमाडौंमा आमसभा गर्दैछ ।
शाहीले भने, ‘तपाईँहरू साँच्चै भ्रष्टाचारको विरुद्धमा लड्ने हो भने पार्टी पङ्क्ति, दल, सिद्धान्त भन्दामाथि उठेर कानुन बनाउन तयार हुनुहुन्छ ? हुनुहुन्छ भने ल म आज हेर्न चाहन्छु–हात खडा गर्नुस् ल । ल गर्नुस् खडा । हुनुहुन्छ कोही ? त्यही भएको हुनाले मैले अहिले पनि भन्न चाहन्छु–यसो नगरौँ । कृपया, तिमी हेरेजस्तो गर्नू, म देखेजस्तो गर्छु । तिमी खेदेजस्तो गर्नु, म दौडेजस्तो गर्छु । यस्तो प्रवृत्तिले भ्रष्टाचारलाई नियन्त्रण गर्दैन ।’
प्रमुख सचेतक भने भ्रष्टाचारलाई न्यूनीकरण गर्न, भ्रष्टाचार गर्नेहरूको तीन पुस्ते सम्पत्ति हरण गरी आजीवन कारबास भोग्ने कानुन यही संसदबाट बन्ने हुनाले संसद् आन्दोलन गर्न उपयुक्त हुने तर्क गरे ।
उनले भ्रष्टाचारविरुद्ध लड्नका लागि पार्टी पङ्क्ति, दल र सिद्धान्त भन्दामाथि उठेर कानुन बनाउने काममा एकजुट हुन पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरे । शाहीले त्यस अवसरमा भ्रष्टाचार नियन्त्रण गर्नका लागि तयार हुने सांसदहरूले हात उठाउन पनि आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


