काठमाडौं, १ जेठ । सोमबारदेखि चिकित्सकको परामर्श सेवा शुल्क बढेको छ ।

नेपाल चिकित्सक संघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले सोमबारदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको हो ।

चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको संघका महासचिव डा. सञ्जीव तिवारीले जानकारी दिए । संघले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो ।

महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क ४२० देखि ९४० रूपैयाँसम्म तोकिएको बताए । नयाँ शुल्क अनुसार पाँच वर्षसम्म अनुभव भएका एमविविएस तथा बीडीएस तहका चिकित्सकको शुल्क ४२० र पाँच वर्षभन्दामाथि अनुभव भएकाको ५१५ तोकिएको छ ।

यस्तै अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको ५९० र त्योभन्दा बढी छ भने ६७० तथा पाँच वर्षसम्मको अनुभव भएका एमडी, एमएस, एमडिएस तहका चिकित्सकको ७५० र पाँच वर्ष बढी अनुभव भएको ८ सय रूपैयाँ शुल्क तोकिएको छ ।

यस्तै पाँच वर्षसम्मको अनुभव भएका डिएमरएमसीएच तहका चिकित्सकको ८८० तथा पाँच वर्षभन्दामाथि अनुभव भएका एमडीरएमसीएच तहका चिकित्सकको ९४० र १० वर्ष भन्दामाथिको अनुभव भएका एमडी/एमएस/एमडिएसका चिकित्सकको ९४० रूपैयाँ निर्धारण गरिएको छ ।