काठमाडौं, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले रायमाझीलाई आइतबार साँझ बुढानीलकण्ठबाट पक्राउ गरिएको जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएपछि काठमाडौं जिल्ला अदालतले उनी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सोही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जना यसअघि नै पक्राउ परिसकेका छन् ।