काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ४ गते प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो ।

बैठकपछि कुराकानी गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जेठ ४ गतेको बैठकमा प्रधानमन्त्री प्रचण्ड प्रश्नोत्तरमा सहभागी हुने तयारी भएको जानकारी दिए । संसदभित्र रहेका दलहरुको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको उनले बताए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समितिको बैठक पनि चाँडै बोलाउने सहमति भएको बताए । सकेसम्म सोमबार नै समितिको बैठक बोलाउन जोड गरिएको उनले उल्लेख गरे ।

उनका अनुसार संयुक्त समिति बनाउनका लागि नियमावली संशोधन आवश्यक रहेकाले नियमावली संशोधनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने कुरा पनि भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले समितिको बैठक बस्न कुनै समस्या नभएको बताए ।

प्रतिनिधिसभा नियमावली अनुसार प्रधानमन्त्रीलाई सोध्ने प्रश्न तीन दिनअगावै सभामुख कहाँ पुग्नुपर्ने र ती प्रश्नहरु प्रधानमन्त्रीलाई जानकारी गराइने व्यवस्था रहेको उल्लेख गर्दै इच्छुक १५ जना सदस्यले प्रश्न सोध्न पाउने पनि स्पष्ट पारे ।