काठमाडौं, ३१ बैशाख । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शीर्ष तीन दलका नेताहरुबीचको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनौपचारिक छलफल भएको बताएका छन् ।

बालुवाटारमा आइतबार बसेको शीर्ष दलका नेताहरुको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणले प्रवेश पाएको हो ।

नेम्वाङले नक्कली भूटानी शरणार्थी प्रकरणमा चलिरहेको अनुसन्धानलाई सघाउने गरी शीर्ष नेताहरुबीचमा छलफल भएको जानकारी दिए ।

शीर्ष नेताहरूले संविधान र कानूनअनुसार काम कारबाही अघि बढाउन बैठक बसेको कुनै हस्तक्षेप नहुने बताएको जानकारी दिए ।

उपनेता नेम्वाङले शीर्ष नेताहरुको बैठकमा संसदीय गतिविधिहरु र विधेयकहरुलाइ अघि बढाउन समझदारी बनेको पनि बताए ।

एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङले शीर्ष नेताबीचको छलफल सकारात्मक भएको र सोमवारदेखि विषयगत समितिहरुको बैठक र संघीय संसदको संयुक्त समिति र नियमावली बनाउने बारेमा पनि सहमति जुटेको बताए ।

उनले सोमबारबाट संसदीय समिति चलायमान बनाउने र संसदबाट समितिमा गएका विधेयकहरू पनि अघि बढाउने कुरामा सहमति भएको बताए ।