काठमाडौं, ३१ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनका लागि नेपाल प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सो प्रकरणलाई स्वतन्त्र र निष्पक्ष ढंगले छानबिन गर्नका लागि नेपाल प्रहरीलाई वातावरण बनाइदिन नेपाल सरकार, नागरिक समाज र सञ्चार क्षेत्रसँग पनि आग्रह गरेका हुन् ।

आइतबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै उनले नेपाल प्रहरीले राम्रो काम गरिरहेकाले त्यसलाई स्वतन्त्रतापूर्वक अघि बढ्न दिनुपर्ने स्पष्ट पारे ।

सो प्रकरणमा मुछिएकाहरुले प्रहरीको अनुसन्धानमाथि नै प्रभाव पार्ने खालका गतिविधि गरिरहेका समाचार आइरहेको भन्दै अध्यक्ष लिङ्देनले सो प्रकरणमा संलग्नहरु ढिलोचाँडो सबै तानिने दाबी गरे । सो प्रकरणलाई शिथिल, कमजोर र फासफुस बनाउने काम नगर्न पनि उनले सरकारलाई सचेत गराए ।

सोमबारका लागि बोलाइएको केन्द्रीय कार्य समिति बैठकमा खासगरी समसामयिक राजनीतिक परिस्थिति र संगठनको भावी दिशाको बारेमा पनि छलफल गर्ने उनले जानकारी दिए ।

राप्रपाले यही जेठ ४ गते दिनको १ बजे वसन्तपुरमा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणविरुद्ध खबरदारी आमसभा गर्न लागेको अध्यक्ष लिङ्देनले बताए ।

मुलुकमा विद्यमान समग्र भ्रष्टाचार र भ्रष्टाचारीहरुको विरोधमा खबरदारी सभा गर्न लागिएको उनको भनाइ छ ।