खाँणलाई निलम्बन गर्नुपर्ने माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं, ३१ बैशाख । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ ।
नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान खाँणलाई तत्काल पार्टीबाट निलम्बन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो । नेविसंघका नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई खाँणलाई निलम्बन नगर्नुको कारण पनि सोधेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणलाई सरकारले निष्पक्ष छानबिन गरेर टुंगोमा पुर्याउनुपर्ने नेविसंघका नेता गोविन्द कोइरालाले भनाइ छ ।
यस्तै, त्रिचन्द्र क्याम्पस प्राङ्गणमा पनि नेविसंघले भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ । नेविसंघका नेताकार्यकर्ताले कैदीको भेषमा भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भन्ने नारासहित आयोजना गरिएको विरोध प्रदर्शनमा नक्कली भुटानी शरणर्थी प्रकरणका आरोपितमाथिको अनुसन्धान प्रभावकारी बनाउन दबाब दिएका छन् ।
कांग्रेसभित्र उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायत नेताहरू खाँणलाई निलम्बन गर्नुपर्ने पक्ष छन् । तर, सभापति देउवा भने तत्काल उनलाई निलम्बन गर्न इच्छुक नरहेको बताइन्छ । देउवा प्रधानमन्त्री हुँदा खाँण गृहमन्त्री थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


