विराटनगर, ३० बैशाख । मोरङको बुढीगंगा गाउँपालिकामा बिजुलीको हाइटेन्सन लाइनको पोलमा चढेका एक युवक ११ घण्टापछि तल ओर्लिएका छन् ।

सडक किनारमा टेवा पर्खाल निर्माणमा रोक लगाउन माग राखेका बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेश माझी शनिबार विहान साढे ६ बजे १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका थिए ।

उनी अपरान्ह साढे ४ बजे ओर्लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए । पोलमा चढेका व्यक्तिले गाउँपालिका अध्यक्ष जितनारायण थापामगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार आएर काम रोक्ने प्रतिवद्धता जनाउनुपर्ने माग गरेका थिए ।

अध्यक्ष थापा मगरले उनी पोलमा चढेको ठाउँमा पुगेर उनको माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि माझी पोलबाट तल झरेको डीएसपी दाहालले बताए ।

सडक छेउमा निर्माण भइरहेको टेवा पर्खालको गुणस्तर राम्रो नभएको भन्दै माझीले रोक्न माग गरेका थिए ।