सरकार अहिले जनता बचाउने अभियानमा छ : मन्त्री गुरुङ

काठमाडौं, ३० बैशाख । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकार अहिले जनता बचाउने अभियानमा लागेको बताएका छन् ।
शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले नेता बचाउनेभन्दा पनि जनता बचाउने कुरा ठूलो रहेको बताएका हुन् ।
भुटानी शरणार्थीमा महाअपराध भएको भन्दै उनले यो सामान्य घटना नभएको बताए । घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याइने उनको भनाइ छ ।
’भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिंग, क्षेत्र, राजनीति पार्टी हुँदैन भन्ने मान्यता स्थापना गर्न र सुशासन स्थापनाका लागि अहिलेको सरकार लागेको छ,’ उनले भने ।
शरणार्थीको विषयमा दबाब आइरहेको बताउँदै उनले भने,’जतिसुकै दबाब आए पनि सुशासन स्थापना गर्ने बाटोमा सरकार अग्रसर हुनेछ ।’
नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङले भ्रष्टाचारको मुद्दामा नेताहरु मुछिएको घटनाबारे पार्टीभित्र छलफल भइरहेको जानकारी दिए ।
नेपाली कांग्रेसको चाहना निष्पक्ष र स्वतन्त्र ढंगबाट छानबिनमा होस् भन्ने रहेको उनको भनाइ छ । छानबिनका लागि सहयोग गर्नुपर्छ भन्ने कुरा पार्टीभित्र भएको उनले जानकारी दिए ।
अपराधीले उन्मुक्ति पाउनुहुँदैन भन्नेमा सरकार र पार्टी रहेको भन्दै उनले भ्रष्टाचारमा मुछिएकालाई निलम्बन गर्नुपर्ने विषयमा पार्टीभित्र छलफल नभएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


