काठमाडौं, ३० बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छन् ।

भण्डारीले कालापानी लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको उल्लेख गर्दै दुई मुलुकबीचको भौगोलिक सीमालाई सम्पूर्ण रुपले चुस्त र स्पष्ट राख्नुपर्ने औँल्याएकी हुन् ।

शनिबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा संयुक्त रुपमा लिखित पुस्तक ’नेपाल भारत फर्नलेयर डिप्लोमेसी इन रिफ्रेन्स टु काली रिभर : पर्सपेक्टिभ अफ इन्टरनेसनल ल’को को विमोचन कार्यक्रममा बोल्दै उनले दुई देशबीचको सदिऔँदेखि रहँदै आएको जनस्तर, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ र सुमधुर तुल्याउन पनि भौगोलिक सीमासम्बन्धी सबै समस्या हल गरेर अघि बढ्नैपर्ने तर्क गरिन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालले आफ्नो नक्शामा समाविष्ट गरेर संविधानको अंग बनाएसँगै मलुुकको सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताप्रति ऐतिहासिक रुपमै नयाँ चेतनाको सञ्चार भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले त्यसलाई कार्यान्वयनमा लैजान दुई मुलुकका राजनीतिक तथा कूटनीतिक नेतृत्वले विशेष ध्यान दिनुपर्ने बताइन् ।

एक राष्ट्रले अर्को राष्ट्रको संवेदनशीलतालाई ख्याल गरेर अघि बढ्दा मात्रै आपसी सम्बन्धलाई अझ सदृढ र विश्वासिलो बनाउँदै लैजान सकिने पनि पूर्वराष्ट्रपति भण्डारीले स्मरण गराइन् ।