स्थिर सरकार नभएकाले निष्पक्ष छानबिन हुनेमा आशंका : डा. बाबुराम भट्टराई

काठमाडौं, ३० बैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताएका छन् ।
शनिबार काठमाडौंको नक्शालमा सुरु भएको नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलनमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा आधारित भइ कुनैपनि दलले बहुमत प्राप्त गर्न नसक्ने भन्दै स्थिर सरकार नहुनाले निष्पक्ष रुपमा भुटानी शरणार्थी प्रकरणबारे छानबिन हुने कुरामा शंका रहेको बताए । उनले जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरु बच्न नसक्ने बताए ।
आन्दोलनमा सहभागी हुन पुगेका पूर्वप्रधानमन्त्री डा. भट्टराईप्रति नागरिकहरु भने खुशी थिएनन् । उनीहरूले यस्ता गतिविधिमा डा. भट्टराई र उनकी धर्मपत्नी एवं पूर्वमन्त्री हिसिला यमीको पनि संलग्नता रहेको भन्दै विरोध जनाएका थिए ।
भुटानी शरणार्थी प्रकरणलाई भित्रभित्रै मिलाउन खोजिएको भन्दै नागरिकहरुले बिरोध गर्दै आइरहेका छन् । भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणको संलग्न रहेको भन्दै प्रहरीले पक्राउ पूर्जि जारी गरेको थियो ।
जसमा पूर्वगृहमन्त्री खाँण अनुसन्धनार्थ थुनामा छन् भने पूर्वउपप्रधानमन्त्री रायमाझी फरार छन् । साथै सरकारले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुने आश्वासन दिँदै आएको छ । नागरिकहरू भने निष्पक्ष छानबिनमा दबाब पर्नसक्ने भन्दै सडक आन्दोलनमा उत्रिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


