पोखरा, २९ बैशाख । गण्डकी प्रदेश सरकारमा नवनियुक्त चारजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेपाली कांग्रेसबाट मन्त्री बनेका नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आले तथा माओवादीबाट मन्त्री बनेका रेशमबहादुर जुग्जालीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

जिसीले कृषि तथा भूमि व्यवस्था, जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, आलेले आर्थिक मामिला र थापाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । नवनियुक्त चारैजनालाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

यसअघि केन्द्रले एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पनि मन्त्री बनाउने भने पनि उनलाई मन्त्री नबनाए पनि गण्डकीमा सहज बहुमत पुग्ने भएकाले पाण्डे सुरुदेखि नै मन्त्री बनाउने पक्षमा थिएनन् ।

वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए ।