एमालेले पार्टीको वार्षिक कार्ययोजना बनाउने

काठमाडौं, २९ बैशाख । नेकपा एमालेले पार्टीको वार्षिक कार्ययोजना बनाउने भएको छ ।
पार्टीको जारी केन्द्रीय कमिटीको बैठकले २०८४ सालको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने उद्देश्यसहित २०८० सालको वार्षिक कार्य योजना बनाउन लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका हुन् ।
उपप्रमुख रिजालले भने, ‘हामीले ८ वटा समूहमा बिभाजन गरेर, ती रिर्पोटहरुमाथि आधारित भएर आ–आफ्नो प्रदेशका के कस्ता कार्ययोजनाहरु हुन सक्छन् ? वार्षिक कार्य योजनाका बारेमा राय, सल्लाह, सुझाव प्रस्तुत गर्नका लागि हामीले ७ वटा प्रदेशका ७ वटा टोली र सम्पर्क समन्वय कमिटी र पेशागत विशेष कमिटीलाई एउटा टोली बनाएर ८ वटा समूह निर्माण गरेका छौँ । त्यसमा उहाँहरूले घनीभूत ढंगले छलफल गरिरहनु भएको छ ।’
पार्टी केन्द्रिय कार्यालय च्यासलमा दोस्रो दिन शुक्रबार प्रदेश कमिटीहरुसहितको ८ वटा समूहले अहिले सो वार्षिक कार्ययोजनाका लागि सुझाव दिइरहेका छन् । सोही सुझावको आधारमा भोलि (शनिबार) बिहान बोलाइएको पार्टी स्थायी समिति बैठकले वार्षिक कार्ययोजनाको प्रस्ताव तयार गर्ने र त्यसलगत्तै बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने पनि उपप्रमुख रिजालले बताए ।
बैठकमा पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि महासचिव शंकर पोखरेलले मार्गदर्शन पनि प्रस्तुत गरेका छन् । सोही मार्गदर्शनमा आधारित भएर सबै समूहहरुले पार्टीको वार्षिक कार्ययोजनाका लागि सुझाव दिनेछन् ।
बिहीबारबाट सुरु भएको एमाले केन्द्रिय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली, विभिन्न आयोगका अध्यक्षहरू तथा प्रदेश कमिटीहरुले प्रस्तुत गरेको मिसन ग्रासरुट अभियानबारे विभिन्न समूह बनाएर छलफल गरिएको थियो ।
शनिबार वार्षिक कार्ययोजना पारित गर्दै अध्यक्ष ओलीको सम्बोधनसहित केन्द्रीय कमिटी बैठक सम्पन्न हुने एमालेले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


