जनकपुरधाम, २९ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र जिल्ला क्रिकेट संघ धनुषाको संयोजनमा गत बैशाख १ गते सम्पन्न प्रदेश स्तरीय ‘जनकपुरधाम मेयर कप–२०७९’ क्रिकेट प्रतियोगिताका विजेताले पुरस्कार रकम अझै पाउन सकेका छैनन् ।

प्रतियोगिता सम्पन्न भएको करिब एक महिना पुग्न लाग्दा पनि पुरस्कार रकम वितरण गर्न आयोजकले ढिलाई गरेको हो ।

गत १ बैशाखमा जनकपुरधाम–१४ रजौलस्थित निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा भएको प्रतियोगिताको फाइनल खेलमा बारालाई ५ विकेटले पराजित गर्दै जनकपुरधामको क्रिकेट टिमले उपाधि जितेको थियो ।

त्यसअनुसार विजेता जनकपुरधामले २ लाख ५१ हजार र उपविजेता बाराले १ लाख ५१ हजार एवम् ट्रफि जितेको घोषणा गरियो । तर, प्रतियोगिता सकिएको २८ दिन बितिसक्दासमेत विजेता टोलीले पुरस्कार रकम पाएका छैनन् । पुरस्कार रकम माग्न जाँदा विभिन्न बहाना मात्रै सुनेर फर्किनुपरेको खेलाडीले गुनासो पोख्छन् ।

‘आज दिउँला, भोलि दिउँला भन्दाभन्दै एक महिना बित्न लागिसक्यो । पुरस्कार रकम माग्न जाँदा पैसा उठेको छैन, यसले पैसा दिएन जस्ता बहाना मात्रै सुन्नुपर्छ,’ एक खेलाडीले भने, ‘कसले पैसा दियो–दिएन भन्ने हामीलाई सरोकार नै भएन ।आयोजकले दिन्छु भनेको पुरस्कार रकम समयमै दिनुपर्ने हो । हामी बडो उत्साहका साथ प्रतियोगिता खेल्न गएका थियौँ । त्यही रकम पनि समयमै नपाउनु दुःखद हो ।’

प्रतियोगिताका संयोजक सरोज मिश्रले आयोजक उपमहानगरबाट आउनुपर्ने रकम पूरा आइनसकेकाले पुरस्कार रकम दिन नसकिएको बताए । ‘प्रतियोगिता सञ्चालन गर्न जनकपुरधाम उपमहानगरपालिकाले १५ लाख रुपैयाँ दिने भनेको हो । त्यसमध्ये पहिलो किस्तामा करिब १२ लाख ल्याएर खर्च पनि भइसकेको छ,’ मिश्रले भने, ‘बाँकी रकम अझै आउनै बाँकी छ । रकमका लागि हामी पनि लागिपरेका छौँ । तर, केही प्रक्रिया बाँकी रहेकाले आइसकेको छैन । यही रकम रोकिँदा पुरस्कार रकम दिन ढिला भएको हो ।’

उनले फ्याक्ट नेपालले १० लाख बराबरको सहयोग गर्ने भनेपनि करिब साढे ४ लाख बराबरको डे«स मात्रै सहयोग गरेको बताए । प्रतियोगितामा कूल २७ लाख रुपैयाँ खर्च भएकोले थप रकम अपूग भएको मिश्रको भनाइ छ ।

प्रतियोगिता आयोजनाका लागि मोडेल क्याम्पसले ६० हजार, एनएमबी बैंक, नविल बैंक र मुक्तिनाथ विकास बैंकलगायतकाले ५०/५० हजारको दरले आर्थिक सहयोग गरेको थियो ।

यता, नगरप्रमुख मनोजकुमार साहले प्रतियोगिताको विजेता टिमले पुरस्कार रकम नपाएको बारे आफूलाई कुनै जानकारी नरहेको बताए । उनले भने, ‘विजेता टिमले पुरस्कार रकम अहिलेसम्म पाएको छैन भन्ने कुराको जानकारी मैले तपाईंबाटै जानकारी पाएँ । अहिलेसम्म मलाई यसबारे अन्य कसैले जानकारी दिएका थिएनन् ।’

उनले उपमहानगरले भने प्रतियोगिताको संयोजन गरेको जिल्ला क्रिकेट संघ धनुषाको खातामा करिब १२ लाख रुपैयाँ पठाइसकेको जानकारी दिए । अन्य खर्चहरुलाई कटौति गरेर भएपनि विजेता टिमलाई यथाशीघ्र पुरस्कार रकम दिनुपर्ने उनले बताए ।

लिगकम नकआउट आधारमा चैत २३ गतेदेखि बैशाख १ गतेसम्म सञ्चालन गरिएको सो प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो ।

मधेस प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा तथा पर्साका टिमका साथै कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका टिम पनि प्रतियोगितामा सहभागी थिए ।