जनकपुरधाम, २९ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर–२ स्थित साविकको भानुचोकमा शालिक पुनःनिर्माणका लागि दुई पक्षबिच भएको छलफल निष्कर्षविहिन टुंगिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले छलफलका लागि बोलाएको बैठक निष्कर्षविहिन टुंगिएको हो ।

शुक्रबार दुबैपक्षबिच भएको छलफलमा बृहत विचारविमर्श गरिएपनि कुनै निष्कर्ष निस्कन नसक्दा पुनः अर्को बैठक बस्ने निर्णय गरिएको लोकतान्त्रिक युवा संघ धनुषाका अध्यक्ष प्रशान्त झाले जानकारी दिए ।

जनकपुरधाम–२ मा आदिकवि भानुभक्त आचार्यको शालिक निर्माण गर्नुपर्ने कि मधेस आन्दोलनका प्रथम शहीद रमेश महतोको शालिक निर्माण हुनुपर्ने भन्ने विषयमा दुईमत देखिएको छ ।

यसअघि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख साहले त्यहाँ आदिकवि भानुभक्त आचार्यको शालिक निर्माण हुने भन्दै शिलान्याससमेत गरेका थिए । तर, मधेसवादी दल समर्थित युवा विद्यार्थीहरुले विरोध जनाउँदा निर्माण कार्य तत्कालका लागि स्थगित भएको छ ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहको अध्यक्षतामा भएको छलफलमा उपप्रमुख किशोरी साह, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, बरिष्ठ उपाध्यक्ष मनिष रमण साह, प्रहरी निरीक्षक बिक्रम साह, लोसपा युवा संघ धनुषाका अध्यक्ष प्रशान्त कुमार झा, समाजवादी युवा संघ धनुषाका अध्यक्ष दिपेन्द्र कुमार कापडी, विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष विरेन्द्र यादव, लोसपाका युवा नेता मनिष मण्डललगायतकाहरुको उपस्थिति थियो ।