जनकपुरधाम, २९ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेश सरकार फेरि गठन हुने बताएका छन् ।

शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै यादवले संघ सरकारमा भएको गठबन्धनकै आधारमा केही दिनभित्रै मधेस सरकार पुनः गठन हुने बताएका हुन् ।

उनले संघीय सरकारमा भएको गठबन्धन अनुरूप नै मधेस सरकारमा पनि गठबन्धनको सरकार कायम रहने बताए ।
मुख्यमन्त्रीमा आलोपालो हुने भन्दै उनले अहिले भने सरकारको नेतृत्व जसपाले नै गर्ने स्पष्ट पारे ।

‘यही सरकारमा मन्त्रिपरिषद् विस्तार हुन्छ । घटक दलका तर्फबाट मन्त्री हुन्छन् । तर, मुख्यमन्त्रीमा आलोपालो हुन्छ,’ उनले भने, ‘संघमा सरकारमा रहेका, पाँच दलीय गठबन्धनको संयुक्त सरकारको रूपमा यो अगाडि बढ्छ । मन्त्रिपरिषद् हेरफेर वा पुनर्गठन चाँडै हुन्छ ।’

उनले जनमत पार्टी उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको विरुद्धमा लागेको उल्लेख गर्दै जनमतलाई सरकारमा ल्याउने, नल्याउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको बताए । मधेश सरकारबाट जनमत पार्टीलाई हटाउने÷नहटाउने विषयमा बिचार गर्नुपर्ने बताए ।

जनमत गठबन्धनमा पनि बस्ने र स्वतन्त्र जस्तो हिड्ने व्यवहार गर्ने भएकाले यस विषयमा विचार गर्नुपर्ने उनको भनाइ छ । यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई अपराध भएको टिप्पणी गर्दै कठोर छानबिन हुनुपर्ने बताए ।