नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न

काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । बुधबार बसेको पदाधिकारी बैठकमा वर्तमान राजनीतिका सबै विषयमा छलफल हुन नसकेपछि बैठक बिहीबारका लागि पनि बोलाइएको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले निष्पक्ष र तटस्थ छानबिन गरे कांग्रेसले खुलेर सहयोग गर्ने विषयमा छलफल भएको बताइएको छ ।
बैठकले पक्राउ परेका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणबारे के निर्णय गर्ला भन्नेमा धेरैको चासो थियो ।बुधबारको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले खाणलाई निलम्बन गरेर जानुपर्ने प्रस्ताव राखेका थिए ।
महामन्त्रीको प्रस्तावमा सभापति शेरबहादुर देउवा मौन बसेपछि बैठकमा यसबारे कुनै निर्णय भएन । बिहीबारको बैठकमा पनि अहिले खाँण अभियुक्त मात्रै भएकाले र दोषी ठहरिए मात्रै कारबाही गर्ने सहमति भएको छ ।
बैठकमा कोशी प्रदेश सरकारमा तालमेलका लागि माओवादी केन्द्रसँग छलफल गर्ने निर्णय भएको छ । यसको समन्वयका लागि दुई महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र तथा सहमहान्त्री भीष्मराज आङ्दाम्बेलाई जिम्मेवारी दिइएको छ ।
बैठकमा दुवै सदनले पारित गरेको नागरिकता विधेयकबारे पनि कानुनविद्हरुसँग छलफल गर्ने निर्णय गरिएको छ ।बैठकले भातृ संगठन, पार्टीको नीति अधिवेशन गर्नुपूर्व केन्द्रीय कार्यसमिति बैठक राख्ने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


