यस वर्ष रासायनिक मलको अभाव हुँदैन : सचिव शर्मा

काठमाडौं, २८ बैशाख । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले यस वर्ष रासायनिक मलको अभाव नहुने बताएका छन् ।
बिहीबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सचिव शर्माले यस्तो बताएका हुन् ।
कृषकको लागि आवश्यक मल खरिदको लागि मन्त्रालयले खरिद सम्झौता गरिसकेको उनले बताए । रासायनिक मल खरिदको लागि अर्को वर्षमा दायित्व सिर्जना हुनेगरी मन्त्रालयको २ अर्ब ४० करोड र अर्थ मन्त्रालयको २ अर्ब ६० करोड गरी ५ अर्ब ७० करोडको मल खरिद गर्न लागिएको उनले बताए ।
यो वर्ष अहिलेसम्मकै धेरै ४ लाख ७२ हजार मेट्रिक टन रासायनिक मल खरिदको टेण्डर निकालिएको बताउँदै सचिव शर्माले अब खरिद सम्झौता हुन ५५ हजार मेट्रिक टन रहेको बताए । हालसम्म आयात भएको रासायनिक मल २ लाख ७७ हजार ५०० मेट्रिक टन रहेको उनले बताए ।
आयात हुने प्रक्रियामा १ लाख ४६ हजार मेट्रिक टन रहेको भन्दै उनले यो सात वर्षको तुलनामा अधिकतम भएको बताए । सचिव शर्माले मन्त्रालय जेठ १५ को बजेटमा स्रोत सुनिश्चिता हुनेगरी १५ अर्बको २ लाख २ हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर भइसकेको जानकारी गराए ।
सरकारले रासायनिक मल ल्याउनको लागि सरकारले जिटुजी सम्झौता गरिरहेको बताउँदै उनले मन्त्रालयले मंसिरसम्म रासायनिक मल अभाव नहुने गरी व्यवस्थापन गरेको दाबी गरे । सरकारसँग अहिले रासायनिक मलको मौज्दात कृषि सामग्री कम्पनीसँग ४३ हजार ६७७ र साल्ट ट्रेनिङमा १६ हजार ५८२ मेट्रिक टन रहेको छ ।
सरकारसँग युरिया ४० हजार ७२४ र डिएपी १९ हजार ३१० मेट्रिक टन रहेको बताए । सचिव शर्माले करिव ६० हजार मेट्रिक टन डिइभी भए पुग्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


