काठमाडौं, २८ बैशाख । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहका सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताएका छन् ।

बिहीबार आफूसँग भेट गर्न आएका नेकपा एकीकृत समाजवादीका नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिसँगको छलफलमा उनले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले यस प्रकारको ठगी सामान्य भ्रष्टाचार मात्रै नभएर संगठित अपराध भएको उल्लेख गरे । अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उनको भनाइ छ ।

सो प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख उल्लेख गर्दै उनले दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याइने दृढता व्यक्त गरे ।

शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट आफूले दह्रो साथ र आडभरोसा पाएको उनको भनाइ छ ।