धनुषामा सांस्कृतिक संग्रहालय बन्ने, प्राध्यापक परमेश्वर कापडीद्वारा ४ कठ्ठा जग्गा दान

जनकपुरधाम, २८ बैशाख । धनुषामा सांस्कृतिक संग्रहालय बन्न लागेको छ । जिल्लाको हंसपुर नगरपालिका वडा नम्बर–२ स्थित बघचौडामा सांस्कृतिक संग्रहालय बन्न लागेको हो ।
सांस्कृतिक संग्रहालय निर्माणका लागि सोही ठाउँ बस्ने प्राध्यापक परमेश्वर कापडीले आफ्नो ४ कठ्ठा निजी जग्गा दान गरेका छन् ।
सोही जग्गामा बिहीबार मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले शिलान्याससमेत गरेका छन् । संग्रहालयको शिलान्यास गर्दै सभामुख मण्डलले यसले मिथिला क्षेत्रमा एउटा नयाँ आयाम थपिएको बताए ।
उनले संग्रहालय निर्माण भएपश्चात् यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने दाबी गरे । उनले आगामी सन्ततिको अध्ययन अनुसन्धानका लागि पनि यो आवश्यक रहेको बताए ।
शिलान्यास कार्यक्रममा मधेस प्रदेश सभा सदस्य माला कर्ण, हंसपुर नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष जयनारायण कापड, स्थानीयबासी, भद्रभलादमीलगायतकाहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

सो संग्रहालयमा विभिन्न भेषभुषा झल्काउने पहिरन, मिथिला क्षेत्रमा हाल लोप हुँदै गएका विभिन्न सामग्रीहरु जस्तै ठेकी, बैलगाडा, पालकी, महफा, खरखरिया, करिन, माटोका भाँडाकुँडाहरुलगायतकाहरु राखिने छन् ।
संग्रहालय निर्माण भएपश्चात् तत्काल स्थानीयबासीहरुसँग संकलन गरेर ती सामग्रीहरु त्यहाँ राखिने जग्गादाता प्राध्यापक कापडीले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


