धर्मलाई राजनीति र राजनीतिलाई धर्मसँग नजोड्न आग्रह

जनकपुरधाम, २८ बैशाख । जनकपुरधाममा मधेस आन्दोलनका प्रथम शहीद रमेश महतो र आदिकवि भानुभक्त आचार्यको शालिक निर्माणको विषयमा राजनीतिक दल र संघसंगठनहरु दुई ध्रुवमा बाँडिएका छन् ।
केहीले साविकको भानुचोकमा आदिकवि भानुभक्तको शालिक निर्माण हुनुपर्ने माग गरिरहेका छन् भने केहीले त्यहाँ मधेस आन्दोलनका प्रथम शहीद रमेश महतोको शालिक बनाउनुपर्ने अडान कसेका छन् ।
बिहीबार लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर जनकपुरधाम आउँदा त्यहाँ रमेश महतोको शालिक बनाउनुपर्ने माग गरे । अर्कोतर्फ जानकी मन्दिर र विभिन्न हिन्दूवादी संघसंगठनहरुले त्यहाँ आदिकवि भानुभक्तको शालिक पुनःनिर्माण गर्नुपर्ने माग गर्दै नगरप्रमुख मनोजकुमार साहलाई ज्ञापन पत्र बुझाए ।
लोकतान्त्रिक समाजवादी पार्टी निकट लोसपा युवा संघ धनुषाका अध्यक्ष प्रशान्त कुमार झाले विगत केही दिनदेखि विभिन्न धार्मिक सनातन संघसंस्थाको नाममा राजनीतिक पृष्ठभुमिका केही युवाहरूले आदिकवि भानुभक्त आचार्यको शालिक निर्माणका लागि आफ्नो शुभेच्छुक पार्टीको धारणालाई विभिन्न धार्मिक संघसंस्थाको ब्यानरमार्फत उचाल्दै गरेको कार्य निन्दनीय र घिनलाग्दो राजनीतिक चरित्रको पराकाष्ठा रहेको बताए ।
उनले भने, ‘आफूलाई मधेस र मधेसी जनताको हितैषिको रुपमा भनाउन रुचाउने पार्टी र ती पार्टीसँग आबद्ध नेताकार्यकर्ताको पनि चरित्र शालिक निर्माणको मुद्दामा जनकपुरधामवासीले छर्लङ्ग देखेका छन् ।’
‘लोसपा, जसपा र जनमत पार्टी मधेस आन्दोलनको जगमा स्थापित पार्टी रहेको र यी पार्टीहरुको बाटो बेग्लाबेग्लै भएतापनि मधेस र मधेसी जनताको पहिचान, स्वभिमान र सम्मानका रक्षार्थ एउटै मुद्दा एवम् सिद्धान्त बोकेका छन्, उनले भने, ‘जनकपुरधाम उपमहानगरपालिकाले शहीदको सम्मानप्रति वातावरण सिर्जना गर्ने प्रयास गर्दा शक्ति प्रदर्शन गर्नका निम्ति नभई शहीदको स्वभिमान र मधेस आन्दोलनको मर्ममाथी हमला हुन खोज्दा मुद्दा मिल्ने पार्टीका युवा विद्यार्थीहरु संयुक्त रुपमा आवाज उठायौं । तर, हाल सामाजिक सञ्जाल र सञ्चार माध्यममा केही दिनदेखि सम्प्रेषण भए अनुसार मधेस केन्द्रित पार्टी पहाडीया पार्टीका साथै जनकपुरधामको धार्मिक संवेदनशीलतामाथि खल्ल हुनेगरी सबै सनातन संघसंस्थाहरु एक हुनु आफैंमा शंकाष्पद र कुनै अनुचित घटनाको संकेत हुन सक्ने हामी लिएका छौं ।’
झाले मधेस आन्दोलनकै जगमा देशमा संघीय संरचनासहित राजालाई सत्ताबाट हटाइ लोकतन्त्र आएको बताउँदै त्यसै समयको माग अनुसार मधेस आन्दोलनको क्रममा आदिकवि भानुभक्तको शालिक हटाई शहीद रमेश स्मारक चोकको नामाकरण गरिएको जिकिर गरे ।
उनले भने, ‘जसरी राजालाई सत्तामा फर्कनु भनेको दिउँसो सपना देखेझैं हो, त्यसरी नै भानुभक्त आचार्यको शालिक पुनःनिर्माण गर्नु सपना देख्नु सरह नै हो । राजा त हाम्रो हिन्दु मान्यता अनुसार भगवान श्री विष्णुका अवतार हुन् तर राजनीति र जनताको चाहना एवम् समयको माग अनुसार त्यो सम्भव छ भने यो किन होइन ?’
‘हामी मिथिलावासी छौं, हामी रामायण नेपालीमा पठदैनौं, यदि त्यसो हो भने आज जति हिन्दुवादी संघसंस्थाका अग्रज अगुवाहरु नेतृत्व गरि उपमहानगरपालिका पुग्नु भो, कृपया एकपटक आफ्नो घरको पुजाकोठामा गएर रामायण खोज्नु होला, सायद त्यो रामायण नेपाली भाषाको नहोला, उनले भने, ‘हामी झुक्नेवाला छैनौं, न त टुट्नेवाला छौं । हाम्रो पहिचान र सम्मानका लागि जसले आफ्नो जीवन समेतको आहुती दिए, शरीरमा एक थोपा रगत भएसम्म उनका सम्मानका लागि हामी लडि रहन्छौं ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


