धनुषामा चोरलाई समात्न प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना प्रहरी चोर बनेर खट्दै

जनकपुरधाम, २८ बैशाख । धनुषाका प्रहरी प्रमुख विश्वराज खड्काले विभिन्न मितिमा विभिन्न स्थानबाट चोरीको घटनामा संलग्न ३२ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।
एसपी खड्काले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका उनीहरुमाथि अभद्र मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जानकारी दिएका छन् ।
उनले चोरहरुलाई समात्न जिल्लाभरमा प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको प्रहरी टोली खटाइएकोसमेत जानकारी दिए । चोरलाई समात्न प्रहरी नै चोर बनेर खटेको उनले बताए ।
यसैबीच, धनुषा प्रहरीले विभिन्न चोरीका घट्नामा संलग्न ७ जना चोरहरूलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
घटना नं. १
धनुषा प्रहरीले चोरी गरेर भाग्दै गरेका एक चोरलाई बुधबार दिउँसो सामानसहित पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ कपिलेश्वर बस्ने ३५ वर्षीय रञ्जित दास रहेका छन् ।
बुधबार दिउँसो करिब साढे ४ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ बेल्हीस्थित बेचु साहको घरमा प्रवेश गरेर दराजको ताला तोडी सामानहरु चोरी गरेर भाग्ने क्रममा स्थानीयको सहयोगमा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
पक्राउ परेका दासले साहको घरबाट सुनको जस्तो देखिने मंगलसुत्र २ थान, सुनको जस्तो देखिने जन्तर १ थान, चाँदीको जस्तो देखिने बाला ४ थान, चाँदीको जस्तो देखिने बिछिया ८ थान, चाँदीको गिलास र चम्चा १÷१ थान र चाँदीको जस्तो देखिने ब्रासलेट १ थान चोरी गरेर भागिरहेका थिए ।
प्रदेश–२–०२–००५ प ७९२६ नम्बरको मोटरसाइकलमा सवार भई भागिरहेको क्रममा प्रहरीले उनलाई पक्राउ गरेको डीएसपी गौतमले बताए ।
घटना नं. २
बिहीबार मध्यान्ह १२ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकबाट वडा नम्बर–१७ बस्ने २१ वर्षीय संजिव राम र क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने बर्ष २८ वर्षीय इन्दल रामलाई प्रहरीले पक्राउ गरेको हो ।
ज.१२ प. ६६० नम्बरको मोटरसाइकल चोरी गरेर लगिरहेको क्रममा वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल र मास्टर कि दुई थानसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
घटना नं. ३
गत बैशाख १७ गते राति १ बजेको समयमा संकटमोचन मन्दिर पछाडि रहेको मान्छे नभएको घरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एम्बुस थापेर बसिरहेको क्रममा २८ वर्षीय सलामद दर्जी र २३ वर्षीय मोहम्मद राजा खानलाई पक्राउ गरेको थियो ।
घरको ताला फुटाई घरभित्र प्रवेश गरेर चोरी गर्ने क्रममा उनीहरूलाई घेराउ गरी नियन्त्रणमा लिइएको थियो । सो घटनामा संलग्न चोरलाई समात्न प्रहरी नै चोर बनेर उनीहरूसँग गएका थिए ।
घटना नं. ४
गत बैशाख २६ गते मंगलबार राति १२ बजेको समयमा घरको ताला फोड्ने औजारसहित दुईजना पक्राउ परेका थिए ।पक्राउ पर्नेमा राजकुमार यादव र सोनु सहनी रहेका छन् ।
पक्राउ परेका उनीहरूको साथबाट हेक्स ब्लेड १ थान, पिलास १ थान, फलामको रिन्च ४ थान बरामद भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


