काठमाडौं, २७ बैशाख । प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मत स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले सो अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा सभामुख देवराज घिमिरेले सो अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको व्यहोरा सदनलाई जानकारी गराएका थिए ।

बैशाख २४ गते बसेको बैठकमा कानुनमन्त्री गुरुङले सो अध्यादेश प्रतिनिधिसभामा पेस गरेका थिए । उक्त अध्यादेश बैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएको थियो ।

सरकारले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ १ गते अपराह्न १ बजे बस्नेछ ।