स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाइने छ : मन्त्री बस्नेत

काठमाडौं, २७ बैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन आफूले जोड दिएको बताएका छन् ।
मन्त्री बस्नेतले सो बिमा गरेकाहरुको उपचारमा सरलीकरण गर्नुपर्ने विषयलाई पनि आफूले गम्भीरतापूर्वक लिएको बताएका हुन् ।
बुधबार मन्त्रालयमा पत्रकारहरुसँग सामूहिक भेटघाट गर्दै उनले स्वास्थ्य बिमा गरेका नागरिकलाई उपचारको क्रममा दोस्रो नागरिकको व्यवहार हुने गरेको आफूले सुनेकाले यसलाई सरलीकरण गर्न सरकार लागिपर्ने स्पष्ट पारे ।
मन्त्री बस्नेतले स्वास्थ्य बिमा कार्यक्रम राम्रो भएको र यसको बजेट बढाएर प्रभावकारी कार्यान्वयनमा लैजानका लागि मातहतका निकायलाई आफूले निर्देशन दिइसकेको दाबी गरे ।
बिमाको कार्यान्वयन पक्ष प्रभावकारी नदेखिएको भन्दै उनले यो विषयमा सम्बन्धित व्यक्तिहरुसँग कुरा गरेर प्रभावकारी बनाउन लागिपर्ने उनले बताए ।
मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयमा बजेटको अभाव भए पनि बाह्य लगानी भित्र्याउन आफूलाई कुनै समस्या नरहेको पटकपटक दोहोर्याए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


