आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक गरिएको भन्दै साइबर ब्यूरोमा आरजुको निवेदन

काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसकी नेतृ एवम् सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दौ नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छन् ।
बुधबार साइबर व्यूरो भोटाहिटीमा दिएको उजुरीमा उनले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त फेक अडियो बदनियतपूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेकी हुन् ।
‘विभिन्न सञ्चारमाध्यमहरुमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्वन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उदेश्यले रेकर्ड गरेका हुन् ? उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुन अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु,’ देउवाले दर्ता गरेको निवेदनमा भनिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


