जनकपुरधाम, २७ बैशाख । मधेस प्रदेशका मुक्त हरवाचरवाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा पुनःस्थापनाका कार्यक्रम समेट्नुपर्ने मागसहित ३२ स्थानीय तहलाई ज्ञापन पत्र बुझाएका छन् ।

मुक्त हरवाचरवाले प्रदेशका ८ जिल्लाका ३२ स्थानीय तहलाई जनदबाबस्वरुप ज्ञापन पत्र बुझाएको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका अध्यक्ष दशनलाल मण्डलले जानकारी दिए ।

राष्ट्रिय दलित नेटवर्क नेपालको सहजीकरण, स्थानीय साझेदार संस्थाको संयोजन र ३२ पालिकमा गठित मञ्चका स्थानीय समितिको अगुवाइमा ज्ञापन पत्र बुझाइएको हो ।

चार दिनसम्म चलेको अभियानअन्तर्गत पहिलो दिन वैशाख २४ गते पर्साको पकहामैनपुर गाउँपालिका, बाराको कोल्हवी नगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका, सर्लाहीको चन्द्रनगर गाउँपालिका र धनुषाको शहीद नगरपालिकामा ज्ञापन पत्र बुझाइएको थियो ।

त्यसैगरी वैशाख २५ गते पर्साको बहुदरमाई नगरपालिका, बाराको बारागढी गाउँपालिका, रौतहटको वृन्दावन नगरपालिका, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका, महोत्तरीको भङ्गहा नगरपालिका र लोहारपट्टी नगरपालिका, धनुषाको विदेह नगरपालिका, सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका, सप्तरीको कञ्चनरुप नगरपालिका र खडक नगरपालिकामा पनि ज्ञापन पत्र बुझाइएको थियो ।

वैशाख २६ गते पर्साको पर्सागढी नगरपालिका, बाराको जीतपुरसिमरा उपहानगरपालिका, रौतहटको गरुडा नगरपालिका, सर्लाहीको ईश्वरपुर नगरपालिका, महोत्तरीको जलेश्वर नगरपालिका, धनुषाको गणेशमान चारनाथ नगरपालिका, सिरहाको बरियारपट्टी गाउँपालिका र सप्तरीको शम्भुनाथ नगरपालिकामा ज्ञापन पत्र बुझाइएको थियो ।

बुधबार पर्साको वीरगञ्ज महानगरपालिका, रौतहटको माधवनारायण नगरपालिका, सर्लाहीको हरिपुर नगरपालिका, महोत्तरीको मटिहानी नगरपालिका, धनुषाको धनौजी गाउँपालिका, सिरहाको लहान र धनगढीमाई नगरपालिका तथा सप्तरीको सुरुङ्गा नगरपालिकामा ज्ञापन पत्र बुझाइएको राष्ट्रिय दलित नेटवर्कका कार्यकारी निर्देशक हुकुम सार्कीले जानकारी दिए ।

ज्ञापन पत्रमा संघ र प्रदेश सरकारसँगको समन्वयमा स्थानीय सरकारले मुक्त हरवाचरवाको वास्तविक तथ्याङ्क सङ्कलन गरी वर्गीकृत परिचयपत्र प्रदान गरिनुपर्ने, मुक्त हरवाचरवाको शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार सुनिश्चित, लैङ्गिक भेद्भावबिना सबैलाई समान र उचित ज्याला सुनिश्चित गरिनुपर्ने र हरवाचरवाको सम्पूर्ण शान्ति सुरक्षाको व्यवस्था गरिनुपर्ने माग समेटिएका छन् ।

सरकारले कमैया श्रम निषेध ऐन २०५८ अनुसार गत वर्ष साउन २ गते हरवाचरवाको ऋण र कागजात खारेजी गरिने प्रतिबद्धतासहित मुक्तिको घोषणा गरेको थियो ।