काठमाडौं, २७ बैशाख । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि खाँणलाई हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

यसअघि काठमाडौं प्रहरी परिसरबाट उनलाई म्याद थपका लागि अदालत लगिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित उनको निवासबाट पक्राउ गरेको थियो ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले अहिलेसम्म पूर्वगृहमन्त्री खाँणसहित १२ जनालाई पक्राउ गरिसकेको छ ।

यस प्रकरणमा हालसम्म पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, बिचौलियाको भूमिका निर्वाह गरेका रामशरण केसी, गोविन्द चौधरी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीसहित १२ जना पक्राउ परिसकेका छन् ।