तीन कर्मचारीसहित पाँचजनामाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २७ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीसहित पाँचजनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बुटबलमा भूमिगत जलस्रोत र सिंचाइको निर्माणसम्बन्धी ठेक्कामा कामै नगरी रकम भुक्तानी दिएको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।
अख्तियारले भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, बुटबलका तत्कालीन कार्यालय प्रमुख इच्छाकुमार श्रेष्ठ, इञ्जिनियर सन्तोषकुमार दास र लेखापाल नेत्रप्रसाद मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
त्यस्तै, भोलेबाबा कन्स्ट्रक्सन, त्यसका ठेकेदार सुक बहादुर गुरुङ र कम्पनीका अख्तियारवाला प्रकाश भट्टराईविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएकोको हो ।
पम्पहाउस, स्टोरेज ट्यांकी र वितरण प्रणाली निर्माणको ठेक्कामा हुँदै नभएको काम भएको भनी रकम भुक्तानी दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ ।
अख्तियारले कार्यालय प्रमुख श्रेष्ठ, इञ्जिनियर दास र लेखा प्रमुख नेत्रप्रसाद मरासिनीमाथि ५३ लाख ७५ हजार बिगो मागदावी गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
निर्माण कम्पनी, त्यसका सञ्चालक र प्रतिनिधिलाई भने ६३ लाख ७ हजार रुपैयाँ बिगो मागदाबी गरी मुद्दा चलाएको छ । उनीहरुमाथि नगरेको कामलाई बढी काम गरेको देखाउन झुट्टा बिल बनाउन लगाएको आरोप छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


