काठमाडौं, २७ बैशाख । नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको पत्र संसद सचिवालयलाई पठाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीले आफू बिरामी परेको पत्र बुधबार संसद सचिवालयलाई पठाएका हुन् ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले रायमाझीले पठाएको पत्र सचिवालयलाई प्राप्त भएको बताए । बिना सूचना प्रतिनिधिसभाको १० वटा बैठकमा अनुपस्थित भए सांसद पद जाने व्यवस्था रहेका कारण उनले सभामुखलाई पत्रमार्फत जानकारी गराएका छन् ।

नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका रायमाझीलाई पार्टीले बुधबारै पदबाट निलम्बन गरेको छ । अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेका छन् ।

प्रहरीले यस प्रकरणमा हालसम्म पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, बिचौलियाको भूमिका निर्वाह गरेका रामशरण केसी, गोविन्द चौधरी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीसहित १२ जनालाई पक्राउ गरिसकेको छ ।