टोपबहादुर रायमाझी नेकपा एमालेबाट निलम्बित

काठमाडौं, २७ बैशाख । नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको नाम पनि मुछिएपछि एमालेले उनलाई निलम्बन गरेको हो ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै अनुसन्धानमा सहयोग पुगोस् भन्दै अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको जनाएका छन् ।
विज्ञप्तिमा पार्टीले विधिको शासनमा विश्वास गर्ने उल्लेख गरिएको छ । राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्ने भन्दै एमालेले भनेको छ, ‘ कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ ।’
सोही मान्यता अनुरूप पक्राउ पूर्जी जारी हुनासाथ उनलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको विज्ञप्तिमा उल्लेख छ । उनले सुरुमा नेतृत्वसँग यस विषयमा सहमति पनि जनाएको एमालेले जनाएको छ ।
तर पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उनी सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले गंभीरतापूर्वक लिँदै अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको एमालेले स्पष्ट गरेको छ ।
प्रहरीले रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि हाल उनी फरार रहेका छन् ।
प्रहरीले यस प्रकरणमा हालसम्म पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, बिचौलियाको भूमिका निर्वाह गरेका रामशरण केसी, गोविन्द चौधरी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीसहित १२ जनालाई पक्राउ गरिसकेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


