नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई घरको ढोका तोडेर समात्यो

काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।
यस प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् ।
प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए । आरोपितको बयानका आधारमा अनुसन्धानमा खाँण पनि यस प्रकरणमा तानिएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी भने फरार छन् ।
प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतलाई भने पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
खाँणलाई पक्राउ गर्न बुधबार बिहान प्रहरी टोली उनको घरमा पुग्दा उनले ‘दुई मिनेट है, फोन गर्छु’ भनेर ढोका थुनेका थिए । तर, निकै बेर खोलेनन् । निकै बेर ढोका नखुलेपछि प्रहरीले ढोका नै तोडेर उनलाई नियन्त्रणमा लियो ।घटनास्थलमा पुगेका एकजना प्रहरी अधिकृत भन्छन्– ‘ढोका फुटाएर पक्राउ गर्यौं, केहीबेर तानातान पनि भएको थियो ।’
पक्राउ परेका खाँणलाई अहिले प्रहरी परिसर टेकुमा राखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


