जनकपुरधाममा भानुभक्तको शालिक निमार्ण गर्नुपर्ने माग गर्दै नगरप्रमुखलाई ज्ञापन पत्र

जनकपुरधाम, २६ बैशाख । जनकपुरधाममा आदिकवि भानुभक्त आचार्यको शालिक निमार्ण गर्नुपर्ने माग गर्दै विभिन्न संघसंगठनहरुले नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको नवौं नगर सभाबाट सर्वसहमतिले पारित भई बजेटसमेत छुट्याइ शिलान्यास पनि भइसकेको अवस्थामा आदिकवि भानुभक्तको शालिक यथाशिघ्र निर्माण गर्नुपर्ने माग गरिएको हो ।
स्थानीय भानुचोकमा भानुभक्त आचार्यको शालिक पुनःनिर्माण स्थगित गरिएकोप्रति आपत्ति जनाउँदै उनीहरुले नगरप्रमुख मनोजकुमार साहलाई ज्ञापन पत्र बुझाएका छन् ।
उनीहरुले आदिकवि भानुभक्तको शालिक निर्माण कार्य अविलम्ब सुचारु गरि दिन अनुरोध गर्दै छिटोभन्दा छिटो शालिक निर्माण कार्य सुचारु नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
राष्ट्रिय विभूतिसमेत रहेका भानुभक्त आचार्यको शालिक निर्माण होस् भन्ने सम्पूर्ण जनकपुरधामवासीको चाहना रहेको उनीहरुको दाबी छ ।
राष्ट्रिय विभुति भानुभक्तको शालिक पुनःनिर्माणको कार्य उपमाहानगरपालिकाले स्थगित गरेपछि ति संघसंगठनहरु आन्दोलित भएका छन् ।
ज्ञापन पत्र बुझाउन नेपाल विद्यार्थी संघ धनुषाका अध्यक्ष सुजितकुमार यादव, नेपाल तरुण दल धनुषाका अध्यक्ष संजय लाभ कर्ण, अनेरास्वयू धनुषा (नेकपा एमाले)का अध्यक्ष पुरुषोत्तम चौधरी, अखिल क्रान्तिकारी धनुषाका राजु प्रतिहस्त, राष्ट्रिय स्वतन्त्र पार्टी धनुषाका संयोजक डा. जयप्रकाश महतो, अनेरास्वयू धनुषा (ने.क.पा.एकिकृत सामाजवादी)का अध्यक्ष शिवचन्द्र झा, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनका मोहन झा, नेपाल समाजवादी विद्यार्थी यूनियन मधेस प्रदेशका अध्यक्ष सुरेन्द्र यादव, राष्ट्रिय युवा संघ नेपाल धनुषाका अध्यक्ष रोशनकुमार यादव, युवा संघ नेपाल धनुषाका शैलेन्द्र कुमार यादव, वाइ.सि.एलका केन्द्रीय सदस्य दिपक पटेल, युथफोर्स धनुषाका प्रमुख आदेश कुमार यादवलगायतकाहरु पुगेका थिए ।

यसअघि बैशाख १५ गते लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भातृ संगठन लोकतान्त्रिक युवा संघ नेपाल धनुषाले जनकपुरधाममा मधेस आन्दोलनका प्रथम शहिद रमेश महतोको नाममा शालिक निर्माण प्रक्रिया अगाडी बढाउन माग गर्दै जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहलाई ज्ञापन पत्र बुझाएको थियो ।
मधेस आन्दोलनको मर्म र भावना विपरीत रमेश महतो चोकलाई विस्थापित गर्ने कार्य भए आफूहरु संर्घष गर्न वाध्य हुने चेतावनी दिइएको थियो । त्यसपछि नगरप्रमुख मनोजकुमार साहले शालिक निर्माणको काम तत्कालका लागि स्थगित गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


