काठमाडौं, २६ बैशाख । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाब दिएका छन् ।

मंगलबार सरकारले प्रस्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले यस्तो सुझाब दिएका हुन् ।

आर्थिक अवस्था सुधार गर्न सबैभन्दा पहिला कृषिमा लगानी बढाउनुपर्ने बताउँदै उनले उत्पादनमुलक उद्योगहरुलाई सबलीकरण गर्ने, रुग्ण उद्योगलाई पुनः सञ्चालन गरेर मात्रै अहिलेको आर्थिक संकटको सामना गर्न सकिने बताए ।

पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सके पनि केही मात्रामा आर्थिक समस्या समाधान गर्न सकिने उनले बताए । हरित क्रान्ति कार्यक्रम लागू गर्नसके कृषि उत्पादनमा वृद्धि गर्न सकिने उनको भनाइ छ ।