टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

काठमाडौं, २६ बैशाख । नेकपा एमालेका सचिव एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।
पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीको ललितपुरको सातदोबाटोस्थित घरमा प्रहरीले खानतलासी गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरको टोलीले छापा मारेको प्रहरीले जनाएको छ ।
नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुँदै गर्दा रायमाझी बुधबार अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भएका थिए ।
उनीसँगै यो कार्यक्रममा सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए । कार्यक्रमपछि सन्धिखर्कमा पत्रकारहरुसँग कुराकानी गर्दै यस घटनामा आफ्नो पनि नाम जोडिएकोप्रति अचम्ममा परेको उनले बताएका थिए ।
उनको फोनसमेत स्विच अफ रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनको अन्तिम लोकेसन भैरहवामा ट्र्याक भएको प्रहरीले बताएको थियो ।
रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुटवलबाट पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार उनलाई बुधबार साँझ नै पक्राउ गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


