काठमाडौं, २६ बैशाख । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नेपालमा विकासको गलत मोडेल अभ्यास भइरहेको बताएका छन् ।

सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि भइरहेको छलफलमा बोल्दै राउतले सरकार भवन, सडक र विमानस्थललाई मात्र विकासको मानक मान्नु गलत रहेको बताए । एयरट्राफिक नै नपुग्ने विमानस्थल निर्माण गरेपनि तलब नपाएर प्रहरीहरू रुनु परेको उनले बताए ।

विकास भनेकै ठूला भवन, फराकिला सडक र विमानस्थल भनेर बुझिदिँदा अर्थतन्त्रको यो हविगत भएको उनको भनाइ छ । अध्यक्ष राउतले विवाहमा दुल्हादुल्हीको मन हेर्नुपर्नेमा हामी भोजभतेरतिर लागेको उदाहरण दिए ।

उनले भने, ‘दुल्हादुल्हीको मन मिल्यो कि मिलेन हेर्नुपर्नेमा हामीले ठूलो तामझाम गर्छौं । ऋणै काढेर सुन किन्छौं । भोजभतेर गर्छौं । हाम्रो अर्थतन्त्र पनि त्यही भएको हो ।’

उनले अर्थमन्त्रीलाई आगामी बजेट मानव केन्द्रित बनाउन आग्रह गरे ।