जनकपुरधाम, २६ बैशाख । मधेस प्रदेशको प्रदेशसभा बैठक आगामी जेठ २ गते बस्न लागेको छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले सरकारले सो बैठकमा चारवटा विधेयक पेस गर्ने तयारी गरेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयले बनाएको यातायातसम्बन्धी विधेयक प्रदेशसभामा पेस हुनेछ । अघिल्लो सरकारका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवको पालामा उक्त विधेयक तयार पारिएको थियो ।

त्यस्तै बालबालिका संरक्षण र प्रदेश प्रशासनसम्बन्धी विधेयक पनि पेस हुने सम्भावित कार्यसूची रहेको सचिव यादवले बताए । बैठकमा समसामयिक विषय पनि समावेश गरिने तयारी रहेको उनले बताए ।

प्रदेशमा बजेट अधिवेशन पनि सुरु हुँदैछ । बजेट अधिवेशनमा प्रि बजेट छलफल र नीति तथा कार्यक्रमबारे सांसदहरूले धारणा राख्ने कार्यसूची रहेको उनले जानकारी दिए ।