प्रमाणपत्र बुझेको भोलिपल्टै गयो कंसाकारको सांसद पद

काठमाडौं, २५ बैशाख । सांसदको प्रमाणपत्र बुझेको भोलिपल्टै विन्दाबासिनी कंसाकारको पद गएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेपछि सांसद बनेकी कंसाकारले सांसदको प्रमाणपत्र बुझेको भोलिपल्टै उनको पद गएको हो । निर्वाचन आयोगले उनलाई आइतबार मात्रै सांसदको प्रमाणपत्र दिएको थियो ।
मन्त्री बन्नका लागि एक मेडिकल व्यवसायीसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेर उनको ठाउँमा कंसाकारलाई सांसद बनाउन निर्वाचन आयोगमा पत्र पठाएको थियो ।
श्रेष्ठ निलम्बित भएपछि उनको ठाउँमा रास्वपाले कंसाकारलाई सांसद बनाउन पत्राचार गरेको र सो पत्रअनुसार निर्णय भएको आयोगका राजनीतिक दल व्यवस्थापन शाखा प्रमुख गुरुप्रसाद वाग्लेले जानकारी दिए ।
आयोगले विन्दाबासिनी कंसाकार सांसद हुने निर्णय अघिल्लो साता नै गरेको हो । तर, उनले सांसद भएको प्रमाणपत्र आइतबार मात्रै लिएकी थिइन् ।
आयोगले कंसाकार सांसद निर्वाचित भएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयलाई पठाइसकेको छ ।
सोमबार सर्वाेच्च अदालतले ढाकाकुमार श्रेष्ठको सांसद पद तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वाेच्चको सो आदेशसँगै श्रेष्ठको संसदमा पुनरागमन भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


