पार्किङ स्थल निर्माण नगर्न उपमहानगरलाई उच्च अदालतको आदेश

जनकपुरधाम, २५ बैशाख । उच्च अदालत जनकपुरले राष्ट्रिय प्राथमिक विद्यालय दशरथनगरको जग्गामा पार्किङ स्थल निर्माण नगर्न जनकपुरधाम उपमहानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालत जनकपुरका न्यायाधीशद्व भोजराज अधिकारी र सागर विष्टको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो ।
स्थानीय बलदेव साह तेलीले जनकपुरधाम उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयलाई विपक्षी बनाई दिएको रिट निवेदनमा अदालतले यस्तो फैसला गरेको छ ।
राष्ट्रिय प्राथमिक विद्यालय दशरथनगरको जग्गा अतिक्रमण गरी नगर सवारी साधन पार्किङस्थल बनाउँदा विद्यालयमा ध्वनी प्रदुषण बढाउने र विद्यार्थीहरुकोे पठनपाठनमा पनि ठुलो असर पर्ने भन्दै अदालतले निमार्ण कार्यमा रोक लगाएको हो ।
उच्च अदालतले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ र उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरेको छ ।
अदालतको आदेशमा भनिएको छ, ‘विद्यालय क्षेत्रमा नगर बसपार्क निर्माण गर्दा विद्यालय र विद्यालयको पठनपाठनमा पर्न सक्ने असर र त्यसको प्रभावको सम्बन्धमा वातावरणीय अध्ययन भएको र सो प्रभाव सम्बन्धमा अध्ययन गरी न्यूनिकरण तर्फ कारबाही नभएको अवस्थामा मटिहानी गुठी तहसिल तथा खर्च कार्यालय महोत्तरीको नाममा दर्ता रहेको कित्ता नम्बर ६४, ४३ को जग्गामा सञ्चालनमा रहेको राष्ट्रिय प्राथमिक विद्यालय दशरथ नगरलाई असर पर्ने गरी कुनैपनि प्रकारको निर्माण गरी अतिक्रमण नगर्न विपक्षीको नाममा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ र उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरिएको छ ।’

निवेदकको तर्फबाट अधिवक्ता किशोरी साह र कौशलेन्द्र लाल कर्ण तथा विपक्षीको तर्फबाट मन्सुर राईनले बहस गरेका थिए ।
यसअघि जनकपुरधाम उपमहानगरपालिकाले आधुनिक पार्किङस्थल निर्माणका लागि सो जग्गामा गत माघ २७ गते शिलान्यास गरेको थियो ।
नगरप्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहले उपमहानगरको वडा नम्बर–८ दशरथ मन्दिरको छेउमा रहेको करिब १२ कठ्ठा जग्गामा निर्माण हुने पार्किङस्थलको शिलान्यास गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


