काठमाडौं, २५ बैशाख । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परेका सांसद ढाकाकुमार श्रेष्ठले दायर गरेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेर गरेको फोन संवादको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेर सांसदबाट हटाएको थियो ।

त्यसरी गरिएको कारबाही कानुन सम्मत नभएको भन्दै श्रेष्ठ सर्वोच्च अदालत पुगेका थिए । स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीको ‘कोर टिम’ले साढे २ करोड रुपैयाँ मागेको उनको अडियो सार्वजनिक भएको थियो ।

श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय आचरण तथा अनुशासन समितिलगायतलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश पनि दिएको छ । अल्पकालीन अन्तरिम आदेश जारी भएको र अन्तरिम आदेशका लागि सर्वोच्चले छलफलमा बोलाएकाले श्रेष्ठको सांसद पद तत्कालका लागि कायमै रहेको छ ।

यससँगै उनको सट्टामा सिफारिस रास्वपाकी नेतृ विन्दाबासिनी कंशाकारलाई सांसद बन्ने बाटो रोकिएको छ ।