कोशी प्रदेशको पुनः नामकरणको माग गर्दै आन्दोलन घोषणा

विराटनगर, २५ बैशाख । कोशी प्रदेशको पुनः नामकरणको माग गर्दै आन्दोलनको कार्यक्रमहरू घोषणा गरिएको छ ।
कोशी प्रदेश नाम खारेजी हुनुपर्ने र पुनः नामकरणको माग गर्दै आन्दोलित भइरहेको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको हो ।
आन्दोलनको कार्यक्रमहरूमा कोशी नाममा हस्ताक्षर गर्ने सांसद र दलका शीर्ष नेताहरूलाई बहिष्कार गर्नुका साथै मंगलबार झापाको दमकमा साङ्केतिक राँके जुलुस प्रदर्शन गरिने भएको छ ।
त्यसैगरी वैशाख २८ गतेदेखि प्रदेश सभाका ८२ जना सांसद र उनीहरूका शीर्ष नेता हिँड्ने बाटो, बस्ने होटेल, खाने स्थानदेखि उनीहरू सहभागी हुने कार्यक्रम तथा बैठक स्थलहरूमा विरोधको कार्यक्रम गरिने किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले बताए ।
नेताहरूलाई होटेलमा बस्न र कार्यक्रम गर्न हल नदिनका लागि सम्बन्धित पक्षहरूलाई अनुरोध गर्ने समेत उनले जानकारी दिए । त्यस्तै, वैशाख २८ गतेदेखि जिल्लाहरूमा आमसभा, संघर्ष समिति बिस्तार, तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा रोप्ने र ८२ जना सांसदलाई बहिष्कार जारी राख्ने जनाइएको छ ।
आन्दोलनका अन्य कार्यक्रमहरूमा जेठ २ देखि ५ गतेसम्म प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियानलाई तीव्रता दिने, जेठ दोस्रो हप्ता संघर्ष समितिका केन्द्र, जिल्ला र स्थानीय निकायका सबै नेतृत्व पंक्तिको वृहत् भेला आयोजना गर्ने, आन्दोलनलाई व्यवस्थित गर्न ‘पहिचानका लागि युवा’ शक्ति निर्माण गर्ने र प्रदेश सभा केन्द्रित विशाल जनप्रदर्शनको तयारी गर्ने अध्यक्ष राईले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


