काठमाडौं, २५ बैशाख । राष्ट्रिय सभा सदस्य कमला पन्तले ५ सय र १ हजार रुपैयाँका नोटलाई प्रतिबन्ध गर्नुपर्ने माग गरेकी छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा सरकारले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्दै उनले अर्थतन्त्र उकास्नका लागि ५ सय र १ हजारका नोट प्रतिबन्ध लगाउनुपर्ने बताएकी हुन् ।

पन्तले सधैँभर ‘बिरालो बाँधेर श्राद्ध’ गर्नेतिर जानु नहुने भन्दै सरकारले गर्नसक्ने काम मात्रै उल्लेख गर्न आग्रह गरिन् । उनले किसानको उत्पादन राज्यले किन्छ भन्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको पनि बताइन् ।

‘हामी बिरालो बाँधेर श्राद्ध गर्नेतिर नजाऔँ । ठ्याक्कै के गर्ने हो त्यो भनौँ, किसानको उत्पादन राज्यले किन्छ भन्ने हो भने किसानले उत्पादन बढाउँछ । सडकमा लगेर उत्पादन पोख्ने भए किन बढाउने ? राजश्व संकलनको समस्या के हो ? किन भएन राजश्व संकलन ? यसलाई रोक्ने कुरा के हो ? रोक्नेतिर जाऔँ । भन्सारमा कहाँ चुहावट, अर्थमन्त्रीलाई जानकारी छैन भन्ने कुरामा म विश्वास गर्दिनँ,’ राष्ट्रियसभा सदस्य पन्तले भनिन्, ‘बोरामा बाँधेका पैसाहरूलाई ५ सय र हजारका नोटलाई ब्याण्ड गरौँ । यदि हामीले समस्या बुझेका छौँ र सकिन्छ र हिम्मत छ भने यत्ति गर्नसके पलायन हुँदै गएको अर्थतन्त्रबाट बच्न सक्छौँ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दा किन जहिल्यै नकारात्मक गर्छ, रुन्चे कुराले हुन्छ ।’

उनले मौद्रिक नीतिको समीक्षा गर्दा राष्ट्र बैंकले सधैँ नकारात्मक मात्रै किन गर्छ भन्नेकुराको खोजी गर्न आवश्यक रहेको पनि बताइन् ।