काठमाडौं, २४ बैशाख । सभामुख देवराज घिमिरेले हत्या आरोप लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएकोबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को ३ बमोजिम सांसद कोइरीलाई वैशाख १९ गते निलम्बित गरी सूचना टाँस भएको बारे जानकारी गराएका हुन् ।

यसअघिको संसद् अधिवेशनको अन्तिम बैठकमा सांसद कोइरी बिरामी भएर बैठकमा आउन नसकेको जानकारी सभामुखले प्रस्तुत गरेपछि एमाले बाहेक दलका सांसदले आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले अर्को अधिवेशनमा यसबारे निर्णय गर्ने प्रतिबद्धता जनाएपछि बैठक सुचारु भएको थियो ।

निलम्बित सांसद कोइरीमाथि ७ वर्षअघि भएको मधेस आन्दोलनमा सशस्त्र प्रहरी थमन विकको हत्या अभियोग लागेको छ ।