काठमाडौं, २४ बैशाख । नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको मुद्दामा पक्राउ परेका सचिव पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतले आदेश दिएको हो ।

२० वैशाखमा जिल्ला अदालत काठमाडौंले पाण्डेलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । सो म्याद आइतबार सकिएपछि प्रहरीले अनुसन्धान नसकिएको भन्दै हिरासतमा राख्ने समय थप गरिदिन अदालतमा पेश गरेको थियो ।

त्यसपछि अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए ।

पाण्डेविरुद्ध ठगी र संगठित अपराध मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।