काठमाडौं, २४ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्री पुष्पकमल दाहालको निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री दाहालले कसैलाई बचाउने र कसैलाई फसाउने नियतका साथ ‘म कसैलाई छोड्दिनँ’ भन्ने अभिव्यक्ति दिएको जिकिर गर्दै अध्यक्ष ओलीले त्यसलाई सफल हुन नदिने चेतावनीसमेत दिएका हुन् ।

आइतबार संघीय संसद भवनमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले कसले छोड्न दबाब दिएको हो ? प्रस्ट पार्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराए ।

आफू आफ्नो पार्टीले सो प्रकरणका दोषीलाई कारबाही गर्नुपर्छ भन्ने कुरालाई किन्चित तलमाथि नगर्ने प्रस्टयाउँदै ओलीले सो प्रकरणमा एमालेलाई फसाउने षड्यन्त्र नगर्न पनि सचेत गराए ।

प्रधानमन्त्री दाहालले शनिबार ओलीसँगको भेटपछि आफूले कसैलाई पनि नछोड्ने अभिव्यक्ति दिएका थिए । त्यसप्रति आपत्ति जनाउँदै ओलीले आफूलाई भेट्न बोलाएर आफैँलाई दोषी देखाउने गरी प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति सह्य नहुने चेतावनी दिए ।