काठमाडौं, २४ बैशाख । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नक्कली शरणार्थी प्रकरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि पनि छानबिन गर्नुपर्ने माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले त्यतिबेलाको सिंगो सरकार नै यो प्रकरणमा लागेको दाबी गर्दै तत्कालीन प्रधानमन्त्री ओली माथिसमेत छानबिन गर्नुपर्ने बताएका हुन् ।

तत्कालीन गृहसचिवले समेत सो विषय स्वीकार गरिसकेको भन्दै सांसद चौधरीले भने– सम्भवतः मलाई के लाग्दैछ भने स्वयं तत्कालीन सरकारले नै यो आपराधिक कार्यमा लागेको देखिएको थियो । त्यसैले जोजो यो कार्यमा विगतमा संलग्न थिए, त्यसबेलाका प्रधानमन्त्रीलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ ।

उनले नागरिकता सम्बन्धी कानुन बनाएर सबै नागरिकलाई नागरिकता दिने काम गर्न पनि आग्रह गरे ।