काठमाडौं, २४ बैशाख । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारको फिल्म हेर्न आफूहरू आतुर भएको भन्दै प्रधानमन्त्रीलाई तत्काल फिल्म देखाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार एक कार्यक्रममा अहिलेको घटनाक्रम ट्रेलर मात्रै भएको र फिल्म देखाउन बाँकी रहेको टिप्पणी गरेका थिए । त्यसको जवाफमा प्रमुख सचेतक गिरीले आइतबार बजेट अधिवेशनमा बोल्दै आफूहरू टिकट काटेर बसेकाले फिल्म देखाउन चुनौती दिएका हुन् ।

एमालेले राष्ट्रिय सभामा भदौ २२ गते नै भुटानी शरणार्थी प्रकरणको बारेमा कुरा उठाएको बताए । उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी फिल्म हेर्नका निम्ति आतुर छौं । हामी तपाईंले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौं, फिल्म देखाउनुस ।’

भदौ २२ गते एमाले सांसद पार्वती रावलले राष्ट्रिय सभामा भुटानी शरणार्थीको विषय उठान गरेको र त्यतिबेलामा कुरा नसुनिएको पनि उनले बताए ।