एमाले संसदीय दलको बैठकमा नक्कली भुटानी शरणार्थीबारे छलफल

काठमाडौं, २४ बैशाख । नेकपा एमाले संसदीय दलको बैठकमा पार्टीको नेतृत्वलाई नक्कली भुटानी शरणार्थीलगायत विषयमा सांसदहरुले चासो देखाएका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसदहरुले चासो राखेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सो घटनामा संलग्न पार्टीका कुनै पनि व्यक्तिलाई संरक्षण नदिने र अनुसन्धानमा पूर्णरुपले सहयोग पुर्याउने जानकारी गराएको उनले बताए ।
‘हामी कानुनी हिसाबले अनुसन्धानमा सहयोग गर्छौं । तर छानबिनका क्रममा कुनै पनि पूर्वाग्रह नराखियोस, छानिबनलाई सहयोग गर्छौं, छानबिन पारदर्शी र तथ्यपरक हुनुपर्छ, राजनीतिक आग्रहबाट मुक्त हुनुपर्छ’, अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै सचिव भट्टराईले भने ।
बैठकमा संसदीय दलका नेता ओलीले आइतबारदेखि सुरु भएको बर्खे अधिवेशनमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन, विषयवस्तुको राम्रोसँग अध्ययन गर्न, नियमित उपस्थित हुन र हरेक विधेयकदेखि आउने प्रस्तावमा गहन अध्ययन गर्न र ठोस ढङ्गले प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिए ।
बैठकले जनस्तरमा उठिरहेका र दैनिक जीवनमा भोगिरहेका विविध समस्या समाधान गर्न प्रभावकारी ढंगले सदनमा आवाज उठाउने विषयमा पनि जोड दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


